भारतको सर्वोच्चले सच्यायो नेपालीलाई विदेशी भनिएको फैसलाको अंश

लोकपथ
78
Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले नेपालीलाई विदेशी भनि गरेको टिप्पणीलाई आफ्नो फैसलाबाट सच्याएको छ । सर्वोच्चले एक फैसलाका क्रममा सिक्किमस्थित नेपालीलाई विदेशी भनेकामा उक्त अंश हटाएको हो ।

सिक्किम एक्सप्रेसका अनुसार अदालतले बुधबार उक्त अंश हटाएको हो । सर्वोच्चले भारतमा रहेका नेपालीलाई विदेशी भनेपछि सिक्किममा हप्तौंसम्म आन्दोलन चर्केको थियो ।

जसको छिटा दार्जिलिङसम्म पनि पुगेको थियो । अदालतको फैसलाका विरुद्धमा सिक्किमका सत्तारुढ र विपक्षी दलहरु एकसाथ सडकमा उत्रिएका थिए । सिक्किम सरकारले सर्वोच्चको फैसलाको उक्त अंश पुनरावलोकन गर्न निवेदन दिएको थियो ।

सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्या हटाउँदै शुरूको रिट निवेदनमा उक्त शब्द त्यसरी नै उल्लेख भएकाले फैसलामा पनि समावेश हुन पुगेको प्रष्टीकरण पनि दिएको छ ।

यसैबीच, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले पनि सर्वोच्चले जनवरी १३ को आफ्नो फैसला सच्याएकामा धन्यवाद भनेका छन् ।

अलग्गै राष्ट्रका रुपमा रहेको हिमाली देश सिक्किम सन् १९७५ मा भारतमा विलय भएको थियो । सिक्किममा नेपाली भाषीको संख्या धेरै छ भने अहिलेसम्म बनेका ६ मुख्यमन्त्रीमा ५ जना नेपाली समुदायका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?