टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १५ हजार, उद्धारमा समस्या भएको राष्ट्रपतिको स्वीकारोक्ति

लोकपथ
26
Shares

काठमाडौं । टर्की भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । टर्की केन्द्रबिन्दू भएर गएको उक्त भूकम्पमा टर्की र उत्तरी सिरियामा गरेर १५ हजार व्यक्तिको मृत्युभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

गत सोमबार गएको भूकम्पमा परी करिब १३ हजार जना टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको हो । अकल्पनीय प्राकृतिक प्रकोपमा परेर लाखौं व्यक्ति घरबारविहीन हुँदा भग्नावशेषमा पुरिएकाहरुको उद्धार जारी रहेको छ ।

पुरिएकाहरुको अब जिवितै उद्धार हुने आशा मर्दै गएको छ भने उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ ।

राष्ट्रपति रेचेप तैयप एर्दोआनले भने यस्तो कठिन समयमा आलोचना भन्दा एकतामा जुट्न आह्वान गर्दै सरकारको प्रयास सोचेअनुरुप हुन नसेकेको स्वीकारेका छन् । उनले उद्धार र राहतमा सोचेजस्तो पूर्व तयारी गर्न नसकिएको स्वीकारेको बीबीसीले जनाएको छ ।

भूकम्पबाट बढी प्रभावित भएका क्षेत्रहरुको स्थलगत भ्रमण गर्दै उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारी नपुगेको बताएका हुन् । अब विस्तारै स्थिति नियन्त्रणमा रहेको दाबी पनि एर्दोगानले गरेका छन् ।

मुख्य विपक्षी पार्टीका नेताहरुले भने उनको भनाइप्रति असहमति जनाउँदै यति धेरै क्षति हुनुामा राष्ट्रपति एर्दोगान नै जिम्मेवार रहेको आरोप लगाएका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भई सडक सन्जालमासमेत क्षति पुग्दा राहत र बचाउ कार्यमा कठिनाइ भएको छ ।

सिरियामा भने सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको जनाइएको छ । टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीस विदेशमन्त्रीले जनाएका छन् ।

लामो समयदेखि गृहयुद्धमा फसेको सिरियाले उद्धार र राहतका लागि अनुरोध गरेपछि युरोपेली संघले ३५ लाख युरो बराबरको राहत पठाउने भएको छ । यद्यपि, यूरोपेली संघसहितका पश्चिमा मुलुक सिरियाका राष्ट्रपति बसर अल असदले देशमा विपक्षीलाई गरेको दमनका विरोधमा रहेपनि मानवीय सहयोग गर्न अघि सरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?