कहिले सञ्चालन होला बागबजारको तरकारी सङ्कलन केन्द्र ?

लोकपथ
65
Shares

काठमाडौं । रुकुम पश्चिमका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाममा आउने तरकारी एकै ठाउँबाट सङ्कलन गरी बिक्री गर्न मुसिकोट नगरपालिका–५ बागबजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरियो ।

उक्त केन्द्रको भवन, स्थलगत संरचना र त्यहाँसम्म पुग्ने सडक तथा अन्य भौतिक संरचना निर्माण भैसकेका छन् तर सबै संरचना निर्माण भएको लामो समय भइसक्दा पनि अझै उक्त केन्द्र सञ्चालन हुन सकेको छैन ।

जनकपुर चुरोट कारखाना लिमिटेडको नाममा रहेको जग्गामा नगरपालिकाले एक वर्षअघि नै तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्नेगरी भवन बनाएको हो ।

केन्द्र सञ्चालनका लागि बनाइएको भवनमा रु ५० लाख खर्च भैसकेको छ । आर्थिक वर्ष ०७५÷७६ देखि निर्माण सुरु गरिएको उक्त केन्द्र बजेट अभावका कारण दुई वर्षसम्म निर्माण ठप्प भएको थियो । त्यस वर्ष २२ लाखले सङ्कलन केन्द्रसम्म पुग्ने सडक निर्माणदेखि सङ्कलन केन्द्र निर्माणका लागि जमिन सम्याउने काम मात्र भएको थियो ।

नगरपालिकाको १२ लाख र कृषि विकास कार्यालयको रु १० लाख बजेटमा सङ्कलन केन्द्रसम्म पुग्ने सडक निर्माण र जमिन सम्याउने काम मात्र भएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए। आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाबाट प्राप्त थप ३० लाख बजेटबाट केन्द्रका लागि भवन निर्माणको काम पूरा गरिएको थियो । त्यसका लागि नगरपालिकाले २० लाख र सहरी शासकीय आयोजनाअन्तर्गत कर्णाली प्रदेशमार्फत कृषि विकास कार्यालयले १० लाख व्यहोरेको थियो ।

उक्त केन्द्र सञ्चालन गर्नुपर्ने माग किसानले गर्दै आएका छन् । भौतिक संरचना निर्माण हुँदा पनि केन्द्र सञ्चालनमा नआउँदा किसानहरुले डोकोमै राखेर तरकारी बिक्री गर्न बाध्य भएको अगुवा किसान भीमबहादुर खत्रीले बताए।
नगरपालिकाले भने केन्द्र सञ्चालनको तयारी भइरहेको बताएको छ । भौतिक संरचना निर्माण भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको उक्त केन्द्र सञ्चालनका लागि नगरपालिकाका उपप्रमुख विमलकुमार पुनको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।

सङ्कलन केन्द्रसम्म पुग्ने सडक स्तरोन्नति गरेर केन्द्र सञ्चालनमा ल्याइने उपप्रमुख पुनको भनाइ थियो । सडक स्तरोन्नतिका लागि २५ लाख विनियोजन गरिएको उनले बताए। जिल्लामा तरकारी सङ्कलन केन्द्र नहुँदै आफूहरुले उत्पादन गरेको तरकारीले उचित बजार नपाएको किसानहरुको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?