‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईंदै

लोकपथ
39
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ ।

यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए । उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन ।

उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो ।

छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले संक्रमण घटेको छ । अहिले संक्रमण पनि कम हुँदै गएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना संक्रमित र तीनजना सक्रिय संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?