राष्ट्र बैंकले गर्यो नौवटा बैंकलाई कारबाही, ५० लाख रुपैयाँ जरिवाना

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका ९ वटा वाणिज्य बैंक र त्यसका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाडौं हालको ग्लोबल आइएमई, प्राइम कमर्सियल, माछापुच्छ्रे, सानिमा, नेपाल इन्भेष्टमेन्ट, सिभिल र नबिल बैंकलाई कारबाही गरेको हो ।

जसमध्ये, प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाडौं हालको ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै ५०/५० लाख रुपैयाँ जरिवाना गरिएको छ ।

जसमा प्रभू बैंक कारबाहीमा दोहोरिएको छ । जसले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराएको हो ।

त्यस्तै, माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैंकका प्रमुख कार्यकारी निर्देशकलाई सचेत गराएको छ ।

सानिमा बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा (७) को उलंघन हुनेगरी तत्कालिन प्रमुख कार्यकारी निर्देशकलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई सचेत गराएको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे र सिभिल बैंकले ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन’ भन्ने व्यवस्था भएकोमा सोको पालना भएको नपाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम बैंकका सिइओलाई सचेत गराइएको जनाइएको छ ।

त्यसैगरी नबिल बैंक लिमिटेडलाई (सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तिय लगानी निवारण सम्बन्धि व्यवस्था), बुँदा नं. २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र. सं. २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७ ( फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकद्वारा जारी कारवाही विवरणमा उल्लेख छ ।

\

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?