काठमाडौं । देश र संघबीच देखिएका कतिपय असमझदारी न्यूनीकरण गर्ने अपेक्षा गरिएको अन्तरप्रदेश परिषद्को बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा सबै संघीय मन्त्रीहरू पनि सहभागी हुनेछन् ।
यसअघि मंसिर २४ गते बसेको अन्तरपरिषद् बैठकले प्रदेशले भोगिरहेका समस्या र तिनको समाधानको प्रतिवेदन तयार गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।
आजको बैठकमा कार्यदलले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने बताइएको छ । ‘बैठकमा समितिको प्रतिवेदन पेश हुन्छ ।’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘बैठकले समस्याको समाधान खोज्नेछ ।’
नेपालको संविधानको धारा २३४ मा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । परिषद्मा प्रधानमन्त्रीसहित संघीय सरकारका गृहमन्त्री, अर्थमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्री सदस्य हुने संवैधानिक व्यवस्था छ ।
आजको बैठकमा परिषद्का सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्री कार्यालयका सचिवको समेत सहभागिता रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया