उखु क्रसिङको ढिलाइले खेत बाँझै, किसान चिन्तित

बर्दिवास । उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । 

जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ । नयाँबाली लगाउने समय वित्न लागेपछि किसानलाई जग्गा बाँझो रहने चिन्ताले पिरोलेको छ । 

खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) काटेर गहुँ र वैशाखी तरकारी बाली पुस तेस्रो साताभित्रै लगाई सक्नुपर्नेमा उखु क्रसिङ अझै नहुँदा किसान चिन्तामा छन् । पुस तेस्रो साताभित्र बाली लगाउन नपाए पाँच महीना जग्गा बाँझो बस्ने किसान बताउँछन् । 

‘गहुँ र वैशाखी तरकारीलगायत बाली पुस अन्तिमसम्म लगाइसक्नुपर्छ’, भङ्गाहा नगरपालिका-४ का लक्ष्मी महतोले भने, ‘खुट्टी उखु काटेर खेत खाली गर्ने कुनै सुरसार छैन ।’ अहिले जिल्लामा करीब आठ हजार हेक्टर जग्गामा उखु खेती गरिएको छ । पाँच हजार हेक्टरमा खुट्टी उखु रहेको उखु उत्पादक सङ्घ रामनगरका अध्यक्ष श्याम शाशङ्करले बताए । 

विगतमा मङ्सिर दोस्रो साताभित्रै मिल सञ्चालन हुँदा खुट्टी उखु कटान गरेर नयाँ बाली लगाउने समय पाइने गरेको भए पनि पछिल्ला चार वर्षयता यो तालिका खल्बलिएको किसान बताउँछन् । 

गहुँ र वैशाखी तरकारी बाली लगाउन नपाउँदा वैशाख अन्त्यसम्म बाँझो बसेर घर गुजारामै समस्या पर्ने गरेको भङ्गाहा-४ का लाली महतोले बताए । उर्बर जग्गा पाँच महीना बाँझो रहे परिवार कसरी पाल्ने भन्ने चिन्ता किसानलाई छ । 

समयमा क्रसिङ नहुँदा, तौल नहुँदा, क्रसिङपूर्व मूल्य निर्धारण नहुँदा र उखुको मूल्य समयमा नपाइँदा किसान दिक्क भएर अब उखु खेती छाड्ने मनस्थितिमा पुगेका छन् । 

‘वर्षेनी उखुको मूल्यको किचलो र मिल ९उद्योग० सञ्चालनमा ढिलाइ हुन्छ’, बर्दिवास नगरपालिका-१२ विजलपुराका किसान विश्वनाथसिंह कुशवाहा भन्छन्, ‘कति दिन यो झमेला धान्नु किसानले ? अब विकल्प खोज्नै पर्छ ।’

उखु ठीक समय (मङ्सिर चौथो साताको प्रारम्भ) मा क्रसिङ नखुल्दा पछि हुरी बतास चल्न थालेपछि मिल (उद्योग) बन्द भएर खेतमै उखुमा आगो लगाउनु परेको किसान विगत सम्झन्छन् । 

गत वर्ष वैशाखमै उद्योग बन्द हुँदा आफ्नो १० कट्ठा क्षेत्रफलको उखुबाली खेतमै डढेलो लगाउनु परेको भङ्गाहा-४ का किसान केशवराज शर्माले बताए ।

यसपालि पनि उखुको मूल्यको झमेलाले उद्योग उखु क्रसिङमा तातेको छैन । किसानसम्बद्ध सङ्घका प्रतिनिधिले यसपालि सरकारले उपलब्ध गराउने भ्याट रकमसहित प्रतिक्विण्टल रु ५४५ पाउनु पर्ने माग गरेका छन् । 

यता उद्योगहरूले भने गत वर्ष दिइएको ५३१ (सरकारले भ्याटबापत दिने रकमसहित) प्रतिक्विण्टलबाट झरेर सरकारले दिने प्रतिक्विण्टलमा ६५ रुपैयाँ भ्याटबाहेक ३८० मात्र दिनसक्ने जनाउँदै आएका छन् । 

यद्यपि गत वर्ष भ्याटबापत सरकारले दिने भनिएको प्रतिक्विण्टल ६५ किसानले अझै नपाएको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घलगायतका प्रतिनिधिले बताएका छन् । 

नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधि एवं एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज रामनगर (महोत्तरी)का कार्यकारी सञ्चालक सरेशकुमार सर्राफले सरकारले विदेशी चिनी आयात नरोक्दा आफ्नो उत्पादन गोदाममा थन्किएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?