राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको तयारी पूरा

लोकपथ
13
Shares

बुटवल । लुम्बिनीमा राष्ट्रिय सभा सदस्य एक पदका लागि बुधबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानका लागि व्यवस्था मिलाएको निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । लुम्बिनी प्रदेशमा एक सिटका लागि निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । एमाले उम्मेदवार कुमार दसौदी, प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार बनेका छन् ।

दसौदी र आचार्य दुवै रोल्पाका हुन् भने रायको पुरानो घर कर्णालीको सल्यान हो । पछिल्लो समय उनी बाँकेमा बस्दै आएका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । उनीहरुको मतभार फरफरक हुन्छ । प्रदेशसभा सदस्यको एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मत भार १८ कायम छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?