काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी भएको छ । विधान मस्यौदामा सहमतिपछि आजै महासमितिमा पेश गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सोमबार दिनभर भएको छलफलपछि बेलुका पदाधिकारी संख्या बढाएर १२ पुर्याउने विषयमा छलफल भएको थियो । जसमा ८ जना निर्वाचित र ४ जना मनोनीतको व्यवस्था कायम राख्ने विषयमा छलफल सहमति नजिक पुगेको नेताहरुले जनाएका छन् ।
महामन्त्री सशांक कोइरालाले अघि सारेको प्रस्तावमा नेताहरु सहमति नजिक पुगेका हुन् । जसमा १२ पदाधिकारी हुनेछन् ४ जना मनोनीत बाँकी निर्वाचित हुनेछन् । सभापति, उपसभापति २, महामन्त्री ३, सहमहामन्त्री ५ र कोषाध्यक्ष राख्ने प्रस्ताव कोइरालाको छ ।
यसैको सेरोफेरोमा सहमति कायम हुने नेताहरुको भनाई छ । कांग्रेसमा महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्ने प्रावधान छ । बिहानसम्म नेताहरुले पदाधिकारीको संख्या र निर्वाचन पद्धतिमा सहमति जुटाइसक्ने र त्यसपछि केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता शर्माले बताए ।
उनका अनुसार केन्द्रीय समितिले अनुमोदन गरेपछि छलफलका लागि महासमिति बैठकमा पेश गरिने छ । महासमिति बैठक पनि एकदिन लम्बिने भएको छ ।
मंसिर २८ मा आरम्भ भएर आज सकिने भनिएको बैठक बुधबारसम्म सम्पन्न हुने भएको छ । बैठक नै एक दिन ढिला सुरु भएको र बोल्ने सदस्य पनि थपिएकाले समय लम्बिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया