काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दिवसको अवसरमा श्रम, रोजगार तथा समाजिक विकास मन्त्रालयको आह्वानमा संघ, प्रदेश र स्थानीय तहमा समेत साताव्यापी कार्यक्रम भइरहेका छन् ।
‘माइग्रेसन विथ डिग्निटी’ नारासहित आप्रवासनका विविध विषयमा सारेकारवालासँग अन्तरक्रिया एवं जनचेतना मुलक कार्यक्रम भइरहेको मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टको उपस्थितिमा नयाँबानेश्वरमा विशेष कार्यक्रम हुने मन्त्रालयका प्रवक्ता नारायाण रेग्मीले जानकारी दिए ।
यो दिवस सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरूको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन् २००० देखि दिवस मनाउन थालिएको हो ।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आप्रवासीको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माणका लागि क्रियाशील रहेको बताएका छन् ।
दिवसका शुभकामना सन्देश दिँदै उनले आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको बताए ।
‘श्रमिक र रोजगारदाताको सम्बन्धलाई सुमधुर बनाउँदै श्रमिकको जीवनलाई गुणस्तरीय बनाउन सरकारको तर्फबाट महत्वपूर्ण पहल भएको छ’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘सरकारले श्रममैत्री वातावरण निर्माण गर्न नयाँ श्रम ऐन तथा नियमावली जारी गरी कार्यान्वयनमा ल्याएको छ ।’
उनले नेपालमा पहिलो पटक श्रमिकको सामाजिक सुरक्षालाई बलियो बनाउन सामाजिक सुरक्षा योजना लागू गरिएको भन्दै सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित थप रोजगारी सिर्जना गर्न देशव्यापी रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने जानकारी सन्देशमा गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया