राष्ट्र बैंक भन्छ- ‘बैदेशिक व्यापार घाटा सात खर्ब ११ अर्बभन्दा बढी’

लोकपथ
130
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय कुल बस्तु आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको छ महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २० दशमलव सात प्रतिशतले कमी आएको छ ।

सो अनुसार चालु आवको पछिल्लो छ महिनामा कुल सात खर्ब ९२ अर्ब ६७ करोड रुपैंयाँ बराबरको बस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१ दशमलव एक प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो छ महिनामा कुल वस्तु व्यापार घाटा १९ दशमलव दुई प्रतिशतले घटेर सात खर्ब ११ अर्ब ८६ करोड रुपैंयाँमा सिमिच भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६ दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव नौं प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब १० अर्ब ९१ करोड बराबरको भएको प्रतिवेदन उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यातमा पनि ३२ प्रतिशतले कमी आएको छ । सो अनुसार चालु आवको पछिल्लो छ महिनामा ८० अर्ब ८१ करोड रुपैंयाँ बराबरको सामान निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५ दशमलव पाँच प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४० दशमलव एक प्रतिशत र २५ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात तीन दशमलव छ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव चार प्रतिशत, २४ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?