उर्मिला अर्याल : ०२६ सालमा अनेरास्ववियुको सदस्यदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नेतृ सर्वसम्मत निर्वाचित भएकी छिन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्बिरोध निर्वाचित भएकी हुन् । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरे ।

२०१३ असोज २० गते तत्कालिन पर्साको जगरनाथपुर गाउँपालिका-५ मसिहानी (हाल विरगञ्ज महानगरपालिका- २३, गण्डक चोक) मा अर्यालको जन्म भएको हो ।

सानैबाट राजनीतिमा सक्रिय उनको कम्युनिष्टप्रति झुकाव थियो ।  अर्याल वि.सं. २०२६ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन् । संगठनको काममा सक्रिय रहेकी उनले वि.सं. २०३५ सालमा कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिएकी थिइन् ।

२०३५ साल चैतमा तत्कालीन ने.क.पा. चौम जिल्ला कमिटी सदस्य बनिन् । त्यस्तै २०३६ सालमा तत्कालीन चौम अन्तर्गत अ.ने.म. संघको केन्द्रीय सम्मेलन आयोजक कमिटी सदस्य हुँदै २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियू उपसभापतिमा निर्वाचित भएकी थिइन् ।
पार्टी राजनीतिमा विभिन्न जिम्मेवारी र सक्रिय रहँदै गर्दा उनी २०४६ सालमा नेकपा एमालेमा प्रवेश गरेकी गरेकी हुन् ।

२०५० सालमा नेकपा एमाले पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित हुँदै सोही वर्ष राजविराजमा सम्पन्न अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

त्यसो त २०४८ र २०५१ म एमालको तर्फबाट पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी थिइन्, यद्यपी दुवै निर्वाचनमा उनी निर्वाचित हुन भने सकिनन् ।

यता २०५६ सालमा पर्सा जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा पहिलोपटक निर्वाचित भइन् । २०५९ माघको सातौं महाधिवेशनबाट नेकपा (एमाले)को वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

त्यस्तै २०६३ चैत्र १० देखि २०६४ ज्येष्ठ १० गतेसम्म महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री समेत बनेकी थिइन् । भने पछि २०६७ चैत्रदेखि २०६८ भाद्र ११ गतेसम्म नेपाल सरकारको स्थानीय विकास मन्त्रीको जिम्मेवारीमा रहिन् ।

२०६५ सालमा वुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनवाट नेकपा (एमाले)को केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यमा निर्वाचित भइन् ।

२०६४ सालदेखि महिला लोकतान्त्रिक सञ्जालको केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत बहन गरेकी उनले विभिन्न समयमा नेकपा (एमाले) पार्टी स्कूल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।

२०७० जेठ ४ गते एकीकृत नेकपा (माओवादी)मा प्रवेश गरेकी हुन् । हाल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी उनी २०७८ साल माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनले भारतको रिम्टस् विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्रमा विद्यावारिधि समेत गरेकी छिन् । उनको पति डा. यमबहादुर थापा हुन् भने उनको १ छोरा र १ छोरी रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?