गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुँदै

लोकपथ
130
Shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धनलगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताए ।

नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताए । प्रतियोगिताले गैँडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका गैँडाकोट–९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय भएको बताए । उनले नेपाल क्रिकेट सङ्घमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाइ टोली छनोट गरिएको बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित रु दुई लाख तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजार, इमर्जिङ प्लेयरलाई रु सात हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई रु पाँच-पाँच हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई रु एक हजार पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी र चितवन गरी आठ टोलीको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?