काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजालाई गद्दीमा फर्काउन आफूले दिएका सुझावहरु पूर्वराजा ज्ञानेन्द्र शाहले कार्यान्वयन नगरेपछि आफ्नो पनि बाटो मोडिएको स्पष्टीकरण दिएका छन् ।
लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै अध्यक्ष थापाले नेपालमा राजसंस्था फर्काउन दलहरुसँगको समझदारीबाट मात्र सम्भव हुने भन्दै त्यसका लागि आफूले दलहरुसँग संवाद र हार्दिकता बढाउन बारम्बार सल्लाह दिए पनि पूर्वराजाबाट कार्यान्वयन नभएको बताएका हुन् ।
आफ्नो पार्टी फुटाउनेदेखि गएको राप्रपा महाधिवेशनमा आफूलाई पराजित गराउनसमेत पूर्वराजाको सचिवालय सक्रिय रहेकाले राजतन्त्र फर्काउन सकिने आफ्नो आत्मविश्वासमा चोट पुगेको उनले बताए ।
राजनीतिभन्दा माथि उठेको एउटा अभिभावकीय संस्था हुनुपर्ने मान्यतामा आफू अडिग रहेको भन्दै उनले त्यसका लागि प्रजातान्त्रिक पद्धतिभित्र रहने राजसंस्था हुनुपर्ने सिद्धान्तका पक्षमा आज पनि कायमै रहेको उल्लेख गरे ।
अहिलेको संविधान स्वीकार्नु हुन्नथ्यो भन्ने पूर्वराजाको मत रहेको भन्दै उनले त्यही बिन्दूबाट अलिक बढी मतान्तर हुन थालेको जानकारी दिए ।
२०७२ सालमा संविधान जारी भएपछि तत्कालीन सरकार निर्माणका सन्दर्भमा दरबारका मानिसहरुले त केपी ओलीलाई नभई सुशील कोइरालालाई सघाउन आफूलाई बारम्बार दबाब दिएको पनि उनले बताए । थापाले भने, ‘तर मैले त्यो मानिन ।’
सूर्य चिह्न लिएर चुनाव लड्नु आफ्नो बाध्यता भएको स्वीकार्दै थापाले त्यो बाटो पनि सफल नभएको स्वीकारे । मूसा प्रवृत्ति देखाउँदै चरम अवसरवादी बनेको भन्ने अरोपका सन्दर्भमा पनि प्रष्टीकरण दिँदै थापाले त्यसमा आफ्नोभन्दा पार्टी नेताहरुको जिम्मेवारी बढी रहेको बताए ।
छ दशक लामो राजनीतिक यात्रा र खेल जीवन दाँज्दा आफू खेल जीवनबाटै सन्तुष्ट रहेको भन्दै अध्यक्ष थापाले राजनीतिमा असफल नै देखिएको बताए ।
२०३८ सालको निर्वाचनमा राजा वीरेन्द्रले नलडभन्दा नमान्दा पराजय ब्यहोर्न परेको पनि उनले बताए । आफूले मकवानपुरका जनताका लागि मरिमेटी गरेर सहयोग गर्दा पनि त्यहाँको जनताले न्याय नदिएको गुनासो पनि उनले कार्यक्रममा गरे ।
करिब दश पटक मन्त्री बनेर विभिन्न मन्त्रालयको नेतृत्व लिएका उनले मकवानपुरबाट जम्मा दुई पटकमात्र प्रत्यक्ष चुनाव जित्न सफल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया