कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नेछन् : महामन्त्री शर्मा

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गरेका छन् । आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सोही व्यक्तिनै राष्ट्रपति बन्ने बताएका हुन् ।

महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्नु पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । उनले आफ्नो पार्टी विपक्ष दल भएकै बेला गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव बनेको स्मरण गराउँदै अहिले पनि सो पद आफ्नो पार्टीले नै पाउने तर्क समेत गरे । महामन्त्री शर्माले संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा अनि आक्रोश र गालीलाई व्यक्त गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि अनुरोध गरे । ओली कांग्रेस फोवियाबाट मुक्त हुनुपर्ने उनको भनाई थियो ।

महामन्त्री शर्माले भने, ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ । नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नु हुन्छ । राष्ट्रपति पदमा उम्मेदवारी दिईरहँदै गर्दाखेरी त्यसलाई लोकतान्त्रिक अभ्यासको रुपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ । म के सार्वजनिक रुपमा सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीलाई स्मरण गराउन चाहन्छु भने–विपक्षले राष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने कुरालाई नै पूर्वाग्रही सोच्ने, गलत ग¥यो भनेर सोच्ने हो भने यो देशको प्रथम राष्ट्रपति पनि तत्कालीन विपक्ष दल नेपाली कांग्रेसको उम्मेदवार बन्नु भएको थियो । त्यस बेला पनि यो देशका प्रधानमन्त्री कमरेड प्रचण्ड हुुनुहुन्थ्यो । नेपाली कांग्रेस पार्टी विपक्षमा थियो । विपक्ष दल नेपाली कांग्रेसले अगाडि सारेको उम्मेदवार डा। रामवरण यादव देशको राष्ट्रपति बन्नु भयो । यसरी कमरेड केपी ओलीले चाँही सुनको बालाको कथा हालि राखेर पिँजडाको फलामे साङ्लो अझै बलियो बनाउने कर्म नगरिदिनु भए हुन्थ्यो । अथवा यो संसदलाई विचार र सिद्धान्त प्रवाह गर्ने थलो हो । यहाँबाट आवेश र कुण्ठालाई, आक्रोश र गालीलाई व्यक्त नगरौं भन्ने सोचि दिए हुन्थ्यो । अलिकति अनुरोध गर्दैगर्दाखेरी चाँही मेरो जिल्लाबासी कमरेडलाई अर्को जिल्लाबासी नयाँनयाँ सांसदको के अपिल छ भने–कांग्रेस फोवियाबाट मुक्त भई दिनुस् ।’

महामन्त्री शर्माले सत्तारुढ दलहरुप्रति संकेत गर्दै संसदमा सुनको बालाको कथा हालेर पिँजडाको फलामे सांङ्लो बलियो बनाउने प्रयास नगर्न पनि ओलीलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?