ओलीले संसदमा प्रतिपक्ष कांग्रेसलाई आलोचना गरेको भन्दै महामन्त्री शर्माले जनाए आपत्ति

लोकपथ
325
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता पक्षकै प्रमुख नेताले संसदमा विपक्षी दलको चर्को आलोचना गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले विशेष समय लिएर संसदमा बोल्दा कांग्रेसमाथि प्रहार गरेकामा उनले आपत्ति जनाएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्तारूढ पार्टीको मुख्य नेताले ‘विशेष समय’ लिएर प्रतिपक्षको चर्को आलोचना गरेको ‘चुनावी भाषण’ आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो !’

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नियन्त्रणमा राख्ने तानाबाना अझ कसिलो बनाउन खोजेको भन्दै शर्माले लेखेका छन्, ‘‘पिँजडा’ को ‘फलामे साङ्लो’ कसिलो बनाउन जारी प्रयत्नको पक्षमा ‘सुनको बाला’ को कथाको आरोप भने कमजोर तर्क लाग्यो !’
शर्माले भनेका छन्, ‘प्रथम रास्ट्रपतिको चुनाव जित्दैगर्दा पनि काँग्रेस प्रतिपक्षमै थियो । अतः बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेकालागि ‘ढोक्सा’ ! श्रद्देय कमरेड’

कांग्रेस फोबियाबाट कति तर्सेको भन्दै शर्माले प्रश्न गरेका छन्, ‘काँग्रेस फोबिया’ बाट तपाईं कहिले मुक्त हुने ?’

ओलीलाई व्यंग्य गर्दै शर्मा लेख्छन्, ‘विघटनझको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन ? धन्यवाद !

यसअघि संसदमा एकपछि अर्को गर्दै ओलीले आफू प्रधानमन्त्री रहेका बेला गरेको कामको फेहरिस्त मात्र सुनाएका थिएनन्, वर्तमान सरकारले गर्न खोजेको कामको विवरण पनि राखेका थिए ।

त्यसक्रममा उनले नागरिकता प्रकरणमा दोषी ठहर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको बचाउ गर्दै उक्त फैसला गर्ने अदालतको कटू आलोचना गरे ।

सर्वोच्च अदालतको फैससलाले कसलाई न्याय भयो भन्ने प्रश्न गर्दै ओलीले संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने बताए ।

उनले भने, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको हाइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउँछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?