काठमाडौं । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् ।
स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै उनले भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी गराइन् । उनले त्यहाँका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी गराउँदै उनले भने, ‘हामीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह ग¥यौँ ।’
यसअघि मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उनले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
सबै भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताइन् । ‘सार्कका विभिन्न संयन्त्र छन्, हाल राज्य÷सरकार प्रमुखको तहमा नबसी अन्य तलका संयन्त्रबाट सार्कलाई पुनः चलायमान गर्दै लैजाने कि भन्नेलगायत विभिन्न विकल्पका बारेमा सकारात्मक छलफल भएको छ ।
यद्यपि यसमा अझै गृहकार्य गर्न बाँकी छ’ मन्त्री पौड्यालले भनिन्, ‘सार्कका गतिविधिलाई प्रभावकारी र पुनः चलायमान बनाउन हाल सार्क मुलुकका विदेश सचिवहरुको अनलाईन बैठक बस्ने भन्ने विषयमासमेत छलफल भएको छ ।’ श्रीलङ्काले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो ।
श्रीलङ्काले जलवायु परिवर्तनसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै मन्त्री पौड्यालले नेपालले पनि त्यसमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइन् । उनले दक्षिण एसियाली मुलुकहरु जलवायु परिवर्तनको जोखिममा रहेको सन्दर्भमा आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) यस क्षेत्रको एउटै आवाज बनाउनका लागि अनौपचारिक नेटवर्क स्थापना गर्न सबैसँग कुरा गरेको बताइन् ।
यसैगरी बङ्गलादेशसँग ऊर्जा व्यापार बारेमा कुरा भएको, माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्सको ठूलो माग रहेको अवस्थामा सम्झौता गरेर प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको मन्त्री पौड्यालले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया