नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । पाँच वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित राणा केही साताअघिदेखि अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

१४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए ।

२०१३ साल वैशाख १० गते राणा नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनकै समयमा निर्धारण गरिएको भारतीय रुपैयाँको विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए ।

जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्राएका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्टिलरी स्थापना गरेका थिए ।

जबरा गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोलेका थिए । त्यसबाट नेपाल–जापानमा मुद्रा विनिमयमा सहज हुनुका साथै दुई देशबीचको आर्थिक सम्बन्ध पनि विकास भएको थियो ।

जापान सरकारबाट उनले उच्च श्रेणीको ‘द अर्डर अफ द राइजिङ सन’को ‘गोल्ड एण्ड सिल्भर’ अवार्डसमेत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?