काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुंगो लगाउने भएका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले उम्मेदवारी आइतबार टुंगो लगाउने निर्णय गरेको हो ।
कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए ।
उनले भने, ‘उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा यस सम्बन्धमा हामी निर्णय गर्छाैँ । ’ उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताए ।
उनले भने, ‘सबैपक्षको कुरा बुझेर एउटा टुंगोमा पुग्ने भन्ने भएको छ । कसैले पनि हामीलाई चाहियो भनेर मागेका छैनन् । व्यक्तिले माग्ने एउटा कुरा भयो, राजनीतिक दल विशेष कसैले पनि भनेका छैनन् । विकसित परिस्थितिका आधारमा बसेर टुङगोमा पुग्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया