एकीकृत समाजवादीको बैठक बस्दै

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् ।

अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा.बेदुराम भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ । उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सरकारको कार्यशैली मूल्यांकन, संसदमा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ ।

संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ । आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले संगठन निर्माणलाई जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?