माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा शुरु

लोकपथ
26
Shares

भरतपुर । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा शुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि शुरु गरेको हो ।

यो सेवा शुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट कर भुक्तानी गर्दा झन्झटिलो हुनाका साथै ढिलासुस्ती हुने गरेकाले यस प्रविधिको प्रयोगले नागरिकलाई सहज हुने बताए ।

उनले यो सेवा प्रयोगसँगै नगरपालिका र वडामा सेवाग्राहीको चाप कम हुने भएकाले सेवा प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रविन भण्डारीले नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी प्रविधिको विकास गरिएको बताए ।

यो सेवा शुरु भएसँगै कार्यालय आएर लाइन बस्नुपर्ने समयका साथै अतिरिक्त खर्च जोगिने उनको भनाइ थियो । सेवाग्राहीले कनेक्ट आइपिएस, खल्ती, आइएमइ पे, प्रभु पे र इ सेवामार्फत भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?