सांसद् अरुण चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

लोकपथ
42
Shares

काठमाडौं । आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भइ बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद् अरुण चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि उनलाई आजै कैलाली जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ ।

चौधरीलाई बाँकेबाट हवाई मार्गमार्फत काठमाडाैं लगेर बिहीबार राति नै श्रीएयरलाइनको जहाजमार्फत कैलालीको धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन् ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए । उनीलगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगो सहित ६ महिना कैदको फैसला सुनाएको थियो ।

यता, नागरिक उन्मुक्ति पार्टीका सांसद् ‍चौधरीको पक्राउ परेकोमा रिहाइ माग गर्दै बिहीबार नै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् । त्यस्तै, थरुहट थारुवान् राष्ट्रिय मोर्चाले निशर्त रिहाइको माग गरेको छ ।

‘लोकतान्त्रिक शासन व्यवस्था नेपाल सरकार र गृह प्रशासनले थारुहरुमाथि गर्दै आएको अन्यायपूर्ण विभेद र असमान कानुनी व्यवहारप्रतिहामी खेद व्यक्त गर्दै थरुहट नेता अभियन्ताहरुलाई सहमति अनुसार अविलम्ब निशर्त रिहाई गर्न नेपास सरकारसँग जोडदार माग गर्दछौँ’ संयोजक श्रवण थारुद्वार जारी विज्ञप्तिमा भसनएको छ ।

थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?