रास्वपाले माग पूरा गर्न सरकारलाई दुई दिन पर्खने

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक बसिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले कुर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले बताए ।

‘उहाँहरूले दुई दिनको समय मागेकोले दुई दिनपछि आवश्यक निर्णय गर्नेछौं’, उनले भने। रास्वपाले सोहीबमोजिम आफ्नो माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दुई दिनको समय दिएको छ । प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको हो ।

सरकारमा रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की छन् ।

सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

यही माघ १५ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट कानुनबमोजिम लामिछानेले पुनः नागरिकता लिइसकेका छन् । नागरिकता प्रकरणमा लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरूलाई नै दिनुपर्ने माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?