सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
13
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र संकटमा पर्दै गएको उल्लेख गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री दाहालले सिमसार क्षेत्रको संरक्षण, सम्वर्द्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दीगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गरेका छन् ।

दिवस अवसरमा उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्वर्द्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरेका छन् ।

आज फेब्रुअरी २ तारिखका दिन संसारभर ‘आजको आवश्यकताः सिमसारको पुनःस्थापना’ भन्ने सङ्कल्पका साथ विश्व सिमसार दिवस मनाइँदै छ । जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रुपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रुपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छन् ।

पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुख्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुबानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन् ।

‘सिमसार संरक्षण गर्ने नेपालको आफ्नै मौलिक परम्परालाई सन् १९८८ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई विश्व रामसार सूचीमा सूचीकृत गरेर अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सिमसार क्षेत्रको जगेर्नामा क्रियाशील रहेको सर्वविदितै छ । नेपालमा भएका तालतलैया, ढाव, कुवा, कुलो, खोलानाला गरी करिब पाँच दशमलव पाँच प्रतिशत क्षेत्रफल सिमसार क्षेत्र रहेको छ ।

त्यसमध्ये अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भएका छाैँ’ प्रधामन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सिमसार क्षेत्र भएका पारिस्थितिकीय प्रणालीले कार्बन सञ्चिति गर्ने क्षमता बढी हुने र जलवायु अनुकूलन क्षमता समेत बढी हुने हुँदा यिनको संरक्षण, सम्वर्द्धन र दीगो सदुपयोग अति आवश्यक रहेकामा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, पानीको शुद्धिकरण र पुनःर्भरण, कार्बन सञ्चिति, खाद्यपदार्थको स्रोत सुनिश्चितता, जलवायु जोखिमसँग जुध्नसक्ने क्षमता, जीविकोपार्जनको स्रोत संरक्षण तथा पर्यापर्यटनलाई प्रवर्द्धन गर्न पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?