रविलाई गृह नदिनेमा प्रधानमन्त्रीको अडान कायमै, ओली दबाब दिएर निस्किए

लोकपथ
104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा पदस्थापन गर्न दबाब दिएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा ओलीले जसरी पनि लामिछानेलाई गृहमन्त्रीमा पदस्थापन गर्नुपर्नेमा दबाब दिएका हुन् ।

तर, ओलीको दबाबबाट प्रधानमन्त्री पछि हट्ने संकेत नरहेको स्रोतले लोकपथलाई जानकारी दियो । ‘एमाले अध्यक्षको दबाब कायमै छ तर लामिछानेमाथि अभियोग लागेर एउटा प्रक्रियामा रहेको अवस्थामा प्रक्रिया पूरा नहुनञ्जेलसम्म उहाँलाई गृहमन्त्रीमा पदस्थापन गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न,’ स्रोतले भन्यो ।

यता, रास्वपाका सभापति लामिछानेले गृह मन्त्रालय आफूहरुले नपाए सरकार छोड्ने चेतावनीसमेत दिइसकेका छन् । हिजो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भने गृहमन्त्री माओवादीले नै राख्ने निर्णय गरेको स्रोतले बतायो ।

त्यस्तै, दाहाल र ओलीको भेटका क्रममा आगामी राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल भएको थियो । राष्ट्रपतिको विषयमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति खोज्ने र कुनै ख्यातीप्राप्त व्यक्तिलाई राष्ट्रपति बनाउने योजनामा रहेको स्रोतले जानकारी दियो ।

यद्यपि, सरकार गठनका बेलमा भने एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । प्रधामनमन्त्री दाहालले अहिले आएर राष्ट्रिय सहमतिको कुरा गर्न थालेपछि एमाले सशंकित बनेको छ ।

ओलीसँगको भेटघाटपछि अध्यक्ष दाहाल पार्टीभित्रका अन्य नेताहरुसँगको छलफलमा समेत जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?