प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । एमालेको मुख्य भूमिकामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि सहमतीय बाटोबाट जानुपर्ने अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएको छ ।

सरकारको नेतृत्व आधा आधा कार्यकाल र राष्ट्रपति एमालेलाई छाड्ने शर्तमा प्रधानमन्त्री बनाएको भन्दै एमालेले सहमति हुने भए एमालेकै उम्मेद्वारमा हुनुपर्ने दाबी गरिरहेको छ ।

यस्तै, गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । सत्ता साझेदार दलहरुबीचको राजनीतिक सहमतिमा अविश्वासको वातावरण बढ्दै भएसँगै खटपट शुरु भएको हो । आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका थिए । भेटमा उनीहरुबीच बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?