१५ चैत्र २०७९, बुधबार

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

२०७९,माघ,१७,मंगलवार १३:४५

18
Shares

दाङ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ ।

कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ । जिल्ला बाहिरबाट पनि पर्यटकहको संख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

उद्यान अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक चार सयदेखि पाँच सयको संख्यामा बाह्य पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताए । उनका अनुसार पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति रू ३० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रू तीन सयदेखि पाँच सयसम्म शुल्क निर्धारण गरिएको छ ।

अहिले सो पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक रू ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिए । उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ ।

पार्कभित्रको उत्तरतर्फ बालबालिकाहरुका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा पौडी पोखरीको निर्माण गरिएको छ । पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ । त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरु राखिएका छन् ।

पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ । मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ । यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरुलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ ।

द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रू साढे ३७ लाख अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायत गरी हालसम्म रू पाँच करोड खर्च गरिसकेको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले बताए ।

उक्त रकम समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबुद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको भण्डारीले जानकारी दिए । उनले अब केही दिनमै सो इमो, चित्तल, रतुवा, गोही लगायतका जनावर तथा पशुपंक्षी ल्याउने तयारी गरिएको पनि बताए ।

प्रकाशित मिति: २०७९,माघ,१७,मंगलवार १३:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३