संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

लोकपथ
98
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएकाछन् । सोमवार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।

उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु संप्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भुमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए । उनले पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताए । सभामुख घिमिरेले पत्रकारले संप्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाए ।

उनले भने – ‘मिडिया भनेकै के होला त भन्दा भइरहेका कुराहरुलाई, समाजलाई समयमै संप्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरु भनेको देश निर्माणको लागि, समाजलाई परिवर्तन गर्नको लागि, अग्रगति दिनको लागि गरिएका प्रयत्नहरु र गरिएका निर्णयहरु हुन् । ति निर्णयहरुलाई, पत्रकारहरुलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अफ्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरुले पनि नभएका, नचाहिँदा, नहुने कुराहरु गर्न लागेको भए पो ति कुराहरु कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ? कोसँग जुधेर प्राप्त गर्ने ? कोसँग मिलेर प्राप्त गर्ने ? अनेक बाटाहरु खोज्नुपर्ने होला । तर त्यो नभएपछि यि कुराहरु सहज ढंगले जाने कुराहरु हुन् । हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रवन्धका कुराहरुलाई मिलाउने सन्दर्भमा भएका अफ्ठ्याराहरुलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो । पत्रकार जनताको बीचमा सही कुरा संप्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन । आउँदैन । आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रशारण गर्दाखेरी फाइदाको बिरुद्धमा बेफाइदा हुँदैन र रु मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’

उनले समाजलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले समाजलाई सचेत बनाउने भुमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिए । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उनको भनाई छ । उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले भने – ‘पत्रकारहरुले खेलेको भुमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा संगठित गर्छ । संगठनको आधारमा उसले अगाडी बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भुमिका हुन्छ भन्ने म ठान्दछु । तर हाम्रो पत्रकारिता ति उद्देश्यमाथि कत्तिको गइरहेको छ ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ ? जसको कारणले भएपनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ । यहाँ रहेका कमी कमजोरीहरुलाई कसरी अन्त्य गर्न सकिन्छ ? त्यो गर्नु हाम्रो दायित्व हो । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसदको तर्फबाट के गर्नुपर्ला रु पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला ? हाम्रो साझा दायित्व हो ।’

सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे । उनले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?