रास्वपाको एकैदिन बस्यो तीन बैठक, रवि केन्द्रीय सदस्य हुँदै सभापतिसम्म चयन

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार एकै दिन तीन वटा बैठक गर्दै रवि लामिछानेलाई सभापतिमा चयन गरेको छ ।

पार्टी कार्यालय बसुन्धरामा बसेको तीन वटा बैठकले रवि लामिछानेलाई पार्टीमा पुनः स्वागत गर्नेदेखि केन्द्रीय सदस्यमा मनोनयनहुँदै सभापति चयन गर्नेसम्मको प्रक्रिया पूरा गरेको हो ।

प्रवक्ता डा. मुकुल ढकालका अनुसार पार्टीको तीन वटा बैठक बसेको हो ।

जसअनुसार कार्यवाहक सभापति डोलराज अर्यालको अध्यक्षतामा बसेको पहिलो बैठकले लामिछानेलाई पार्टी सदस्यता दिलाउने प्रक्रिया पूरा गरेको थियो । अर्यालको सभापतित्वमा सम्पन्न बैठकले लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो ।

त्यसपछि फेरि अर्यालयकै सभापतित्वमा बसेको अर्को बैठकले लामिछानेलाई सभापतिमा फेरि चयन गर्ने प्रस्ताव गरेको र उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको ढकालले जानकारी दिए ।

त्यसपछि भने लामिछानेको सभापतित्वमा बैठक बसेको थियो । उक्त बैठकले भने यसअघि स्थगित भएको संगठन विस्तारको कार्यक्रमलाई नियमित गर्ने निर्णय गरेको छ ।

जसअनुसार माघ २१ गण्डकीमा विस्तारित समितिको बैठक बस्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कार्यतालिका पुरानै तय गरिएको छ । प्रदेश १, मधेस प्रदेश र बागमतीको हकमा भने संगठन विभागको बैठक बसेर मिति तय गरिने छ ।

रास्वपाले गृह मन्त्रालयमा पार्टीको दाबी कायमै राख्ने निर्णय पनि गरेको छ । ढकालका अनुसार आफ्नो पार्टीको भागमा परेको मन्त्रालय आफ्नै पार्टीले लिने निर्णय गरिएको हो । यद्यपि, उक्त मन्त्रालयमा कसलाई पठाउने भन्नेचाहिँ टुंग्गो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?