काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको टिप्पणी गरेका छन् ।
पार्टीको संगठन विभागद्वारा आज काठमाडौंमा आयोजित ‘उपत्यकास्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा बोल्दै थापाले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा वितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताए ।
शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका शुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना , भ्रष्टाचार नियन्त्रण , बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए ।
अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको कथन थियो । सो अवसरमा संगठन विभाग प्रमुख एवं महामन्त्री राजाराम बर्तौलाले ‘उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान’ कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रमबारे प्रकाश पारे ।
काठमाडौं ,ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु क्रमशः श्याम घिमिरे, जीपी दाहाल र श्याम नेपालले अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया