नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कारबाही गर्छाैँ : स्वास्थ्यमन्त्री गिरी

लोकपथ
13
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने घोषणासमेत गरे ।

मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको नविकरण नगर्नेदेखि लिएर संस्थानै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराए । उनले नर्सहरुलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिए ।

मन्त्री गिरीले भने, ‘अहिले मैले सुने–नर्सहरुले ८ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ भन्ने कुरा सनिरहँदाखेरी यो भन्दा भयावह र कहाली लाग्दो अवस्था केही पनि हुन सक्दैन । यो अत्यन्तै चिन्ताको विषय हो । म यहीँबाट भन्न चाहन्छु–यसरी न्यूनतम पारिश्रमिक पनि नदिईकन, तलब, भत्ता पनि नदिईकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन ।

उचित मान्न सकिदैन । त्यस्ता संस्थाहरुलाई, त्यस्ता निजी अस्पताल र स्वास्थ्य संस्थाहरु जहाँजहाँ छन, त्यसको राम्रो ढंगले मन्त्रालयबाट अनुगमन हुनेछ । र, त्यस्ता संस्थाहरुलाई आवश्यक कारबाही हाम्रो तर्फबाट हुन्छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यो प्रष्ट कुरा हो । यसमा सम्झौंता हुनेवाला छैन ।

सम्झौंता गरिदैन । नियमित रुपमा हामी अनुगमन गर्छौं । त्यस्ता तथ्य र प्रमाणहरु भेटिए भने हामी यसको नविकरण नगर्ने र खारेज गर्नेसम्मको प्रक्रिया अघि बढाएर जानुपर्ने पनि हुन सक्छ । हामी त्यो काम गर्छौं । ती कुराहरु तथ्य र प्रमाणको आधारमा तपाईँहरुले हामी पनि सूचना दिनुहोस् । अव नर्सहरुको तलव पनि डिजिटल पेमेन्ट गर्नुपर्छ । त्यसका लागि अनुगमन गरेर मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने छ ।’

मन्त्री गिरीले कोभिड कालमा नर्सहरुले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंशा गर्दै उनीहरुलाई आवश्यक तलव भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?