धनकुटा ‘कन्सर्ट’को भीडमा २५ जनाभन्दा बढी घाइते, गम्भीर घाइते दुई बालकको गोल्डेन र १६ जनाको बीपीमा उपचार हुँदै

लोकपथ
26
Shares

धनकुटा । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये गम्भीर दुई बालकको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

धनकुटा–५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर रहेको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् ।

घाइते १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । महोत्सवमा किचिएर घाइते भएका ३२ जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि रिफर भएका १६ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

घाइते मध्य १२ जना जिल्ला अस्पतालमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते हुुनेमा अधिकांश बालबालिका छन् ।

 

शनिबार साँझ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाको अनियन्त्रित भीडमा परी उनीहरु घाइते भएका हुन् ।

धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् ।

यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?