प्रार्थनासभा आक्रमणमा सात जना मारिए

लोकपथ
26
Shares

काठमाडौं । पूर्वी जेरुसेलममा प्रार्थना सभाका लागि भेला भएका श्रद्धालुमाथि बन्दुकधारी एक जना प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन्भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको प्रहरीले जनाएको छ ।

उसले यो आक्रमणलाई आतङ्कवादी हमला भनेको छ । इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा भीषण भएको बताएका छन् । हमलामा एक जना ७० वर्षीया महिलाको पनि ज्यान गएको छ । इजरायली सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेर मारेका छन् ।

प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन । उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली साटासाद्ध गरेको थियो । पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको भोली आइतबार हुने भ्रमणको पूर्वसन्ध्यामा भएको यो घातक हमलाले पश्चिम एशियाको सुरक्षामा संसय थपेको छ । अमेरिकाले आक्रमणको निन्दा गर्दै त्यसलाई सभ्य समाजविरुद्धको हमला भनेको छ । साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शुक्रबार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई फोन गरेर इजरायलका पक्षमा अमेरिका रहेको बताउँदै आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?