जीवन यत्तिकै सकिँदैन (फोटोफिचर)

लोकपथ
52
Shares
जोरपाटीस्थित विआईए इन्टिच्युटमा कपडाको थाङ्का बुन्दै अपाङ्ता भएकी कलाकार ।

काठमाडौं । खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण ग¥यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं ।

शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सिमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् । कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए ।

तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अंकुश लगाउन सकेन । न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बने । विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र व्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे ।

त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औँ अमेरिकी राष्ट्रपति हुन् । उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन् । त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन् ।

त्यसो त नेपलमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ । यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश/विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन् । नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफै काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् ।

जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष । गौशालामा व्यापार गर्दै आएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ ।

उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफै कमाएर जीवन धान्छन् । थापाथलीस्थित सुकुम्बासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन् ।

आवाजको सहारामा मोबाइल चलाउने, अपांगता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन् ।

हेर्नुहोस् तस्बिरहरु :

गौशालामा व्यापार गर्दै अपाङ्ता भएकी महिला ।
गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउदै कुष्टरोग पिडित पुरुष ।
पशुपतिमा एक दृष्टिविहीन आवाजको सहारामा मोवाइल चलाउदै ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालय परिसरमा वास्केट वल खेल्दै अपाङता भएका ह्वीलचेयर प्रयोग गर्ने युवकहरु ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा धुप बनाउदै एउटा खुट्टा गुमाएका पुरुष ।
जोरपाटीस्थित अपाङता भएकाहरु बस्ने एक सेल्टरमा ह्वील चेयरमा कृष्ण खड्का । उनका हात खुट्टा दुवै चल्दैनन् । उनी चिउडोको सहारामा ह्वील चेयर चलाउछन् । भने हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउछन् ।
जोरपाटीस्थित अपाङ्ग संघपरिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष एक अर्काको सहारामा हिड्दै ।
जोरपाटीमा ह्वीलचेयर बनाउदै अपाङ्ता भएका मित्रीहरु ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा गलैचा बुन्दै अपाङ्ता भएकी महिला ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा कपडाको थाङ्का बुन्दै अपाङ्ता भएकी कलाकार ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा थाङ्का बनाउदै अपाङ्ता भएका कलाकार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?