राज्यमन्त्री कार्कीको आपत्ति : सञ्चारमाध्यमले म विरुद्धको समाचार मात्र प्रकाशन गर्यो

लोकपथ
104
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमहरुले आफ्नो विरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्तमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आशय व्यक्त गरेकी हुन् ।

सञ्चारकर्मीहरुको दुई जना मन्त्रीहरुले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने प्रश्नमा उनले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरु, क्याथ ल्याबमा आवश्यक भएका कुराहरु, सेवा विकेन्द्रीकरणका कुराहरु, दरबन्दीका इस्युजहरुका धेरै कुराहरु उठेपनि नराम्रो कामको प्रकाशन गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

राज्यमन्त्री कार्कीले सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका आफूले कुरा उठाएपनि त्यसको समाचार नबनेको तर रिबन काटेको समाचारलाई प्राथमिकता दिएको बताइन् । उनले सत्य र सही सूचना प्रवाह गरेको खण्डमा मात्रै देशमा सुशासन कायम हुने बताइन् । माघको पहिलो साता वीर अस्पतालले शुरु गरेको ल्याब सेवा उद्घटन कार्यक्रममा एउटै कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले सँगसँगै गरेकी थिइन् । मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुई वटा अलग अलग रिबन काटेसँगै सामाजिक सञ्जालमा त्यसको विरोध भएको थियो ।

उनले भनिन्, ‘वीर अस्पतालको क्याथ ल्याबको उद्घाटन थियो । हामीले त्यहाँ बसेर जानकारी लियौँ । जनशक्तिका मुद्दाहरु, क्याथ ल्याबमा आवश्यक भएका कुराहरु, सेवा विकेन्द्रीकरणका कुराहरु, दरबन्दीका इस्युजहरुका कुरा थिए । त्यो बारेमा उहाँहरुले हामीसँग बसेर छलफल गर्नुभयो । सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका बारेमा हामीलाई जानकारी गराउनु भयो । त्यो बारेमा समाचारमा आएन । पत्रकार मित्र ज्यु, तपाईहरुलाई म सोध्न चाहन्छु, त्यो समाचार कति धेरै महत्व थियो । किनभने जनताले थाहा पाउनुपर्ने, बुझ्नुपर्ने स्वास्थ्य स्थितिको बारेमा र त्यो अस्पतालमा के पुगेको छ, छैन भन्नेबारेमा कुरा थियो । त्यसैले सत्य र सही सूचना प्रवाह गर्नुभयो भने हामीले चाहेको जस्तो सुशासन कायम हुन्छ ।’

मन्त्री कार्कीले गत मंगलवार संसद भवनबाहिर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयुमा भेट्न जाँदा आफूले कुनैपनि स्वास्थ्यको प्रोटोकल नमिचेको बताइन् । मंगलबार साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पताल आचार्यको स्वास्थ्यस्थितिको बारेमा बुझ्न पुगेकी थिइन् । आचार्यलाइृ भेट्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मन्त्री कार्कीले स्वास्थ्यका प्रोटोकलको पूर्ण पालना नगरेको भन्दै विरोध भएको थियो । विरोधपछि उनले आफूले अस्पतालमा हुँदा कुनैपनि स्वास्थ्यका नियमहरु नतोडेको बताइन् । उनले आफूभित्र रहेको मानवता, एक चिकित्सकको हिसावबाट आफू आचार्यलाई नभेटी बस्न नसकेको बताइन् ।

उनले भनिन्, ‘प्रेम आचार्य एक व्यक्ति होइन, प्रतिनिधि पात्र हुन्, जसले देशलाई नै एउटा प्रश्न तेस्र्याएर आत्मदाह गर्नुभएको छ । उहाँलाई हामीले चाहेर, नचाहेर, कोशिष गरेर, नगरेर बचाउन सकेनौँ । उहाँ अस्पतालको आईसियु कक्षको शैय्यामा रहीरहँदा हामी भित्रको मानवताले हमीलाई रोक्न सकेन, त्यहाँ जानबाट रोक्न सकेन । म भित्र रहेको चिकित्सक, संवेदनशील चिकित्सकले उहाँको स्वास्थ्य स्थिति नबुझी बस्न सकेन । उहाँलाई त्यो स्थितिमा पुग्नबाट रोक्न नसकेपनि अन्तिम घडीमा छटपटाइरहेको नागरिकलाई किन यसो गर्नुभयो भन्न सकेँ । म राज्यमन्त्रीको हैसियतले त्यहाँ पुगेकी होइन, म एउटा मानवको हैसियतले पुगेँ, स्वास्थ्यकर्मीको हैसियतले पुगेँ, राज्यमन्त्री सरकारको अंगको हैसियतले पुगेँ, त्यहाँ पुग्नु आवश्यक थियो । मानवताको प्रोटोकललाई टेकेर म त्यहाँ पुगेको हुँ । अस्पतालमा अपनाउनुपर्ने कुनै प्रोटोकल हामीले मिचेका छैनौँ ।’

राज्यमन्त्री कार्कीले कुनैपनि नागरिकले आर्थिक स्थिति कमजोर भएकै कारणले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुनपर्ने गरी काम गर्नेपनि प्रतिवद्धता व्यक्त गरिन् । उनले बीमालाई वैज्ञानिक ढंगबाट बिस्तार र लक्षित वर्गमा पु¥याउने गरी काम गरिरहेको बताइन् । स्वास्थ्य सेवालाई चुस्त बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइरहेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?