१५ चैत्र २०७९, बुधबार

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

२०७९,माघ,१३,शुक्रवार १५:४५

0
Shares

पोखरा । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अंगे्रजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो ।

‘जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेबु्रअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका थिए । तर, विमान दुर्घटनापछि बुकिङ रद्द हुन थालेक छन्’, रेवान पोखराका अध्यक्ष एवं होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले जानकारी दिए ।

‘अहिले झण्डै ४० प्रतिशत बुकिङ रद्द गर्दै २० प्रतिशतमा झरेको छ, अझै रद्द गर्ने क्रम जारी छ’, उनले भने । हवाई दुर्घटनाको असरले गर्दा उडानका लागि मानसिकरुपमा तयार हुन नसक्नु, सडक पूर्वाधार व्यवस्थित र सहज नहुनु जस्ता कारणले पर्यटक घटेको उनको भनाइ छ । यतिबेला पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पनि बुकिङ रद्द गर्न थालेका छन् ।

होटल सरोवरका सञ्चालक प्रतिक पहारीले पछिल्लो समय आन्तरिक पर्यटकको आगमन उल्लेख्य देखिएकोमा विमान दुर्घटनापछि यो संख्या घटेको बताउँछन् । उनले भने, ‘विमान दुर्घटनापछि मानिसहरु मानसिकरुपमा घुम्न तयार छैनन्, कति कार्यक्रम लागि बुकिङ भएका थिए तर बुकिङ रद्द भइरहेका छन् ।’ उनका अनुसार होटल सरोवरमा जनवरीमा ६० र फेब्रुवरीमा ७० प्रतिशत कार्यक्रम बुकिङ भएका थिए, अहिले २० प्रतिशतमा झरेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउँछन् । उनले भने, ‘अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।’ उनले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०÷४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए । ‘विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्’, उनले भने ।

उनका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् । जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिए । उनले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवं अन्य पर्यटक पनि नआएको उनको भनाइ छ ।

माघ १ मा काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३