१५ चैत्र २०७९, बुधबार

अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

२०७९,माघ,१३,शुक्रवार १४:३७

9
Shares

खोटाङ । साकेला गाउँपालिकामा अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण गर्नेक्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण शुरु गरिएको छ ।

संखुवासभामा निर्माणाीधन चार सय केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रशारणलाइनको टावर निर्माणका लागि खोटाङका साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जग्गा अधिग्रहण गरिएको थियो । गत कातिकदेखि साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआब्जा वितरण गरिसकिएको आयोजनाका खोटाङ प्रमुख अमृत कार्कीले बताए ।

‘साकेलाका ८० जना जग्गाधनीलाई मुआब्जा वितरण गर्ने योजना छ’, उनले भने, ‘वडा नं १ बाँझेच्यानडाँडाका २९ जना, वडा नं २ रतन्छाका २० जना, सवडा नं. ४ मात्तिमका १२ जना र वडा नं. ५ मात्तिम मानेभञ्ज्याङका १९ जनाको जग्गा अधिग्रहण गरेबापत मुआब्जा वितरण गर्ने निश्चित भएको छ ।’

साकेला गाउँपालिकामा आयोजना टावरको फाउण्डेसन रहने स्थानका ९२ कित्ता निजी र चार कित्ता सरकारी जग्गा अधिग्रहण गरिनेछ । जग्गा अधिग्रहणमा परेका अधिकांश जग्गाधनी बाहिरी जिल्ला बसोबास गर्ने भएकाले मुआब्जा वितरणमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।

जग्गाधनीले मुआब्जा लिएका क्षेत्रमा टावर निर्माणको कामसमेत शुरु गरिएको आयोजनाका खोटाङ प्रमुख कार्कीले बताएका छन् । खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबर जोडिने अरुण तेस्रोको प्रशारणलाइनका लागि साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका करिब ६.४ हेक्टर जग्गा अधिग्रहण हुनेछन् ।

आयोजनाका लागि साकेला गाउँपालिकाभित्र ३९ वटा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्र ४१ टावर निर्माण हुने जनाइएको छ । आयोजनाको टावर वरपरका २३/२३ मिटरभित्रको जग्गा अधिग्रहण गरिने छ । जलविद्युत आयोजनाको प्रशारणलाइनको रुटमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालयले माघ–७ गते जग्गा प्राप्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

कार्यालयले रुटमा पर्ने जग्गा पूर्ण वा आंशिकरुपमा तथा जग्गामा रहेका घर, गोठ, टहरालगायतका भौतिक संरचनाका साथै रुख बिरुवा समेत स्थायीरुपमा प्राप्ति गर्नेगरी सूचना प्रकाशित गरेको हो । सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गा रोक्का रहने भन्दै प्रशासनले उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउन भनेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका जग्गाधनीलाई मुआब्जा वितरणका लागि मुआब्जा निर्धारणका लागि प्रकृया थालिएको जनाइएको छ । आयोजनाको प्रशारणलाइनको २७ किलोमिटरखण्ड खोटाङभित्र हुने खोटाङ प्रमुख कार्कीले बताए । वि.सं. २०७५ वैशाख २८ गते नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट शिलान्यास गरेको अरुण तेस्रो आयोजना भारतको सतलज हाइड्रो कम्पनीले ठेक्का लिएको छ ।

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने दूधकोशी जलशाययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण शुरु भएको छ । खोटाङको रावाबेँसी–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि पाँच हजार ८२६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरिएको हो ।

आयोजनाले समुद्री सतहदेखि ६४० मिटरसम्मको जग्गाडुबानमा पार्ने भएकाले छ सय ५० मिटरसम्मको जग्गा अधिग्रहणको प्रक्रियामा लगिएको जनाइएको छ । मुआब्जादेखि अन्य विभिन्न कामका लागि यो वर्ष करिब रु आठ करोड बढी खर्च हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि करिब रू एक खर्ब ६० अर्ब खर्च लाग्ने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैङ्क (एडिबी) ले आर्थिक लगानी गर्ने जनाएको छ । दूधकोसी आयोजनका कारण डुबानमा पर्ने रावाबेँसी–१ लामिडाँडास्थित रभुँवा माझीगाउँका समुदायले नदी र जङ्गल आसपासमै पुनः स्थापित गर्नुपर्ने बताएका छन् ।

जन्मदेखि मृत्युसम्मको साँस्कृतिक परम्परा नदीसँगै सम्बन्धित भएकाले नदी र जंगल आसपासमै पुनःस्थापित गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति: २०७९,माघ,१३,शुक्रवार १४:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

ताजा समाचार

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३