काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताइन् ।
उनले भनिन् ‘निर्वाचन असल प्रतिनिधि छान्नका लागि हो । राम्रो प्रतिनिधिहरु छान्यौँ । जनताले रुचाएका व्यक्तिहरु छान्यौँ र त्यस्तो व्यक्तिहरु छानिएको अवस्थामा के हुन्छ भन्दाखेरी मुलुकले राम्रो बाटो पाउँछ । निर्वाचनमा बेस्सरी पैसा खर्च गरेर निर्वाचनको अपव्याख्या गरेर त्यस्तो प्रतिनिधि आएभने निर्वाचनको कुनै अर्थ रहँदैन ।
र देशको शासनपनि त्यस्तै भएर जान्छ । तर यस वर्षको निर्वाचनबाट के देखिएको छ भने हाम्रो नातिनी उमेरकाहरु अहिले देखा परे । थोरै रुपमा मुठीभरमा थोरै युवा र युवतीहरु देखा परेका छन् अहिले । त्यो प्रयास भएको छ । पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको अवस्था छ ।
राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज । राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु राजै जस्तो भए । यो मानसिकता जाने भनेको यही चुनावले हो ।’
उनले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताइन् । निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया