काठमाडाैं । उद्यमशिलताबाटै मुलुकमा केही गर्ने अठोट र दृढता बोकेका तर चौरासी हण्डरबाट मुक्त हुन नसकेपछि आफैंले आफैंलाई आगो लगाएर मृत्यु स्वीकारेका इलामका प्रेम आचार्यको परिवारलाई सघाउन आर्थिक संकलन थालिएको छ ।
आचार्यले मंगलबार मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनताको सार्वभौम थलो भनिएको संसद भवन अगाडी नै आफैंलाई आगो लगाएर जलाएका थिए ।
उनको मृत्युले अहिले नेपालका चियापसल सडकदेखि सदनसम्म तरङ्ग मच्चिएको छ । विभिन्न देशमा छरिएर रहेका नेपालीले उनको परिवारलाई सहयोग गर्न सहयोगी हातहरु फैलाएका छन् ।
अष्ट्रेलियामा रहेकी सामाजिक अभियन्ता दिपीका जमकटेलले ‘गो फन्ड मी’ अभियान चलाएकी छिन् । उनले मेटा कम्पनीकै फन्ड रेजिङ्गमा सहयोग संकलन भएरहेको लोकपथलाई जानकारी दिइन् ।
देशमा यस्ता घटना हुनु राज्यको हार भएको बताउदै उनले हामी परदेशमा भएकाहरुले केही सहयोग गर्न सकिन्छ भन्ने उदेश्यले उक्त सहयोग उठाएको बताइन् ।
‘हामीले १० हजार अष्ट्रेलियन डलर उठाउने छौं । हालसम्म ६ हजार डलर आसपासमा पैसा संकलन भएको छ । १० हजार डलर उठेपछि अभियान बन्द गरेर पैसा प्रेमको परिवारको खातामा पठाउने छौँ । दिवंगत प्रेमप्रसाद आचार्यको परिवारसँग कुराकानी गरिसकेका छौँ । अब एक दुईदिनमा १० हजार डलर पुग्ने अनुमान गरेका छौँ ।’ उनले भनिन् ।
दिपीका जस्तै अमेरिकाको टेक्ससमा रहेका अर्का नेपाली सुरेस दर्पण पोखरेलले पनि आर्थिक सहयोग उठाइ रहेका छन् । उनले पनि दिवंगत प्रेमप्रसाद आचार्यको परिवारसँग कुराकानी गरेर विश्वभरिका सबै दयालु दाताहरूबाट सहयोगको लागि आग्रह गरेका छन् ।
पोखरेलले आफ्नो सामाजिक सञ्जालमा लेख्दै हालसम्म (२२ घण्टामा) ११ लाखको हाराहारीमा सहयोग जम्मा भईसकेको जानकारी गराएका छन् ।
पोखरेल र जमकटेल जस्तै अन्य धेरैले विश्वका विभिन्न स्थानबाट सहयोग संकलन गरिरहेका छन् ।
नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याले आफ्नो सामाजिक सञ्जालमा सहयोग गर्ने हरुको नामावली पनि समावेश गरेका छन् । हालसम्म आचार्यका परिवारलाई सहयोग गर्नेहरुका विवरण हेर्न यहाँ थिच्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया