काठमाडौंका मेयर बालेन स्वेच्छाचारी र अधिनायकवादी बाटोमा हिंडे : सुमन सायमी (अन्तर्वार्ता)

लोकपथ
312
Shares

काठमाडौं । सामाजिक अभियन्ता सुमन सायमीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वेच्छाचारी र अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै सायमीले मेयर बालेनले जेल जानेसम्मको हर्कत गरेको भन्दै आक्रोश पनि पोखे । सम्पदा र प्राचीन स्मारक भत्काएको आरोपमा बालेनलाई जेल नै हाल्नुपर्ने उनले बताए ।

मेयरमा प्रतिष्पर्धी रहेको भए पनि परिणामपछि बालेनलाई सघाउन साथ दिएको सन्दर्भ कोट्टयाउँदै सायमीले, नागरिकलाई नै उठिबास लगाउन डोजर आतंक सृजना गरेपछि आफू विरोधमा ओर्लनुपरेको बताए ।

संविधान र कानून हातमा लिएर हिंडन थालेपछि आफू जनताको पक्षमा उभिएको भन्दै सायमीले बालेन र उनका आसेपासेले भेटसम्म दिन छाडेको दुःखेसो पोखे ।

कसैको घरजग्गा लिँदा पनि जग्गा प्राप्ति ऐनको प्रक्रिया पुर्याएर मात्र लिनुपर्ने भन्दै सायमीले यस अवधिमा बालेनले भत्काउने बाहेक बनाउने काम नगरेको आरोप लगाए । उनले भने, ‘बालेन कुरै सुन्दैनन् । आलोचना सहन्नन् । सीमित व्यक्तिको घेराभित्र रमाएका छन् । उनी गलत बाटो हिंडिरहेका छन् । फूटपाथबाटै जिविका गर्नेहरुलाई विकल्प दिन सकेका छैनन् । भत्काउनु मात्र बहादुरी होइन । कहाँचाहिँ बनाए त उनले ?’

यद्यपि, सायमीले वाग्मती किनाराबाट सुकुम्बासी हटाउने बालेन कदमको भने स्वागत गरे । त्यहाँ खुकुरी लिएर आफूविरुद्ध जाइलागेपछि बालेन चूप बसेको भन्दै उनले अहिले ठूलालाई चैन, सानालाई ऐन जस्तो भइरहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?