प्रेम आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारको निर्णय

लोकपथ
130
Shares

काठमाडौं । सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले छानबिन गर्ने निर्णय गर्दै समिति नै बनाएको एक मन्त्रीले जानकारी दिए । बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारी छानबिन समितिलाई दिएको छ ।

आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । त्यसपछि उपचारका लागि प्रहरीले कीर्तिपुरको बर्न सेन्टरमा लगे पनि उनलाई बचाउन सकिएको थिएन ।

उपचारकै क्रममा आज बिहान ५ बजे उनको निधन भएको थियो । आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको पीडा ओकल्दै सरकारलाई केही सुझावसमेत दिएका थिए ।

उनको निधन भएपछि गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा पुगेर आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?