ओलीले कार्यकर्तालाई भने – ‘सत्यको बाटोमा हिंड्नुस्, जालझेल नगर्नुस्’

लोकपथ
13
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्यै पनि आवश्यक नठानेको उनको दाबी थियो ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी स्कुल विभागद्वारा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफू सरकारमा सहभागी भए भईगो नि भन्ने एउटा मात्रै सुत्र लिएर हिँडने गरेको समेत बताए । कांग्रेसले भन्ने गरेको लोकतन्त्र र विकास भनेको आफ्नो विकास मात्रै भएको उनले तर्क गरे ।

अध्यक्ष ओलीले भने, ‘देशको बारेमा चर्चा गर्नु, चिन्ता गर्नु आवश्यक नै ठानेन । नेपाली कांग्रेसको एउटा मात्रै सुत्र छ–आफू सरकारमा हुनुपर्छ भई गो नि । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली कांग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास । त्यही हो । यदि देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भएपनि केही छैन ।

विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिसप्त एउटा जमात हुन्छ ।’ अध्यक्ष ओलीले एमाले दलबल गरेर बाँडीचुडी खाने पार्टी नभएको पनि पटकपटक दोहो¥याए । उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ आफ्नो पार्टीको गन्तव्य भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले केही पार्टीहरु सामाजिक असन्तुष्टिलाई उपयोग गर्न आएको भन्दै उनीहरुको राजनीति टिकाउ नहुने धारणासमेत राखे । मौसमी खालका कुरा गर्ने, सामाजिक असन्तुष्टिलाई उपयोग गरेर आउने पार्टीहरु स्थायी रुपमा रहन नसक्ने उनले बताए । ओलीले भने, ‘यो पार्टी दलबल गरेर केही प्राप्त गर्ने, प्राप्त गरेको चिजलाई बाँडीचुढी खाने, मिलिजुली खाने यस्तो पार्टी होइन । यो दलबल गर्ने यस्तो चिज होइन । विचार, उद्देश्यमा संगठित हुने हो ।

हामी समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय आकांक्षा सफल पार्ने, त्यसलाई गन्तव्य बनाउने हाम्रो जुन उद्देश्य छ । त्यसमा केन्द्रित हुन्छौँ । त्यसमा हामी एकीकृत हुन्छौँ ।’उनले एमालेले उद्देश्यहरुसहितको राजनीति गर्ने जिकिर गरे । अध्यक्ष ओलीले सत्यसँग नलड्न र जालझेलको राजनीति नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?