कम्युनिष्ट भनिएकाहरु बाटै गणतन्त्र र मुलुक खतरामा छ : अध्यक्ष केसी

लोकपथ
195
Shares

काठमाडौं । नेपालका पुराना कम्युनिष्ट नेता एवं राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट भनिएकाहरुकै कारण गणतन्त्र खतरामा रहेको आरोप लगाएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै अध्यक्ष केसीले बुर्जुवा भनिएको नेपाली कांग्रेसभन्दा पनि नेपालका कम्युनिष्ट भनिएकाहरु दक्षिणपन्थी देखिएको भन्दै उनीहरुबाट परिवर्तन खतरामा रहेको बताएका हुन् ।

जसरी पनि सत्ता र शक्तिमा पुग्ने तथा पैसा थुपार्ने एक सूत्रीय अभियानमा रहेका ठूला भनिएका कम्युनिष्ट पार्टीका नेताहरुमा मार्क्सवादी/लेनिनवादी आचरण नै नरहेको पनि उनले बताए ।

कांग्रेस सहमत नभएको भए यो देशमा २०४६ सालको परिवर्तन पनि नआउने र २०६३ पछि गणतन्त्र पनि घोषणा नहुने भन्दै अध्यक्ष केसीले कांग्रेससँग आफूहरुले सहकार्य गर्नुको मूल कारण यही भएको प्रष्टोक्ति दिए ।

तपाईंलाई अबको राष्ट्रपति प्रस्ताव गरिए के गर्नुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष केसीले भने, ‘नजाने गाउँको बाटै नसोधनुस् । यत्रा तिकडम गरेर कम्फर्टेबल राष्ट्रपतिको खोजी भइरहेका बेला मलाई बनाउँछन् ? यो हुनै नसक्ने कुरा हो ।’

त्यसो भए को हुन सक्छ त अबको राष्ट्रपति ? रामचन्द्र पौडेल, सुवास नेम्बाङ वा डा. बाबुराम भट्टराई मध्ये कसको बढी सम्भावना छ भन्ने प्रश्नमा उनले भने, ‘पौडेल र नेम्बाङ मध्येबाट एक जना बन्लान् । भट्टराईको सम्भावना म देख्दिँन ।’

प्रचण्डको एक मात्र ध्येय सत्ता र शक्तिमा टिक्नु एवं पैसा थुपार्नु मात्र रहेको भन्दै उनले त्यसैका लागि ओलीसमक्ष सबै कुरा समर्पण गरेर एक थान प्रधानमन्त्री खान गएको टिप्पणी गरे ।

‘प्रचण्ड ओलीको मुठीको माखो’ भएको भन्दै उनले चाहँदा सबै कुरा स्वाहा बनाइदिन्छन् भन्दै केसीले असली प्रधानमन्त्री र राजकीय सत्ता ओलीसँगै रहेको प्रतिक्रिया दिए ।

अहिले जस्ता पात्र र प्रवृत्ति बोकेकाहरुले सरकार बनाएका छन् उनीहरुका कारण गणतन्त्र सिद्धिने र मुलुक नै विघटन हुने खतरा रहेको निचोड उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?