कास्की । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । यसअघि नियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएपछि आज बिहान मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले बिहान पदबहाली गरेका हुन् । यसैगरी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ र कृषि तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले भने मंगलबार साँझ नै पदबहाली गरेका थिए ।
पदभार ग्रहण गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चुमानले प्रदेश सरकारको गौरवका आयोजनाका रुपमा रहेको तनहुँको बन्दीपुर र देवघाट गाउँपालिकाको सीमाना सेती नदीमा बन्ने एक सय १५ मिटर लामो पक्की पुल निर्माणका लागि संक्षिप्त वातावरणीय प्रभावको अध्ययन प्रतिवेदन स्वीकृतिका लागि पेस भएको टिप्पणी सदर गरे ।
सो क्रममा उनले संघीयताको कार्यान्वयनमा लाग्न र सबैखालका प्रयासमा साथ दिन आग्रह गरे । उनले भने, ‘अहिलेको कार्यभार सङ्घीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने गरी काम गर्नु हो । सेवाप्रवाहलाई सहज बनाउँदै जनताको छिटो सम्पन्न गर्ने गरी लाग्न विशेष आग्रह गर्दछु ।’
अन्य मन्त्रीहरुलेसमेत पदबहालीसँगै मन्त्रालयसँग सम्बन्धित निर्णय सदर गरेका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयले बनाइएको छ । यसअघि १२ मन्त्रालय रहेकामा व्ययभार कम गर्न त्यसलाई घटाइएको मुख्यमन्त्री अधिकारीले बताए ।
गण्डकी प्रदेशमा सरकारले पूर्णता प्राप्त गर्दा सरकारको नेतृत्व गरेको नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित चार मन्त्रालय, माओवादी केन्द्रले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक मन्त्रालय लिएका छन् । गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सुरुमा चार सदस्सीय मन्त्रिमण्डल गठन गरेपनि कार्य विभाजन गरेका थिएनन् ।
अधिकारी नेकपा (एमाले) का २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले संसद्मा विश्वासको मत समेत लिइसकेका छन् ।
गण्डकीमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख लिने गरी केन्द्रबाटनै पद बाँडफाँट गरिएको थियो । सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भइसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया