टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न

लोकपथ
0
Shares

काठमाडौं । गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी संलग्न रहेका पाइएको छ ।

एक खेलाडीसहित नेपाली चार र विदेशी ६ जना संलग्न रहेका प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । विदेशीमा व्यवस्थापकीय भूमिकामा रहेका चार, एक खेलाडी तथा अन्य एक व्यक्ति छन् ।

सिआइबीका अनुसार ती मध्ये दुई जनालाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्यको खोजी जारी छ । पक्राउ परेकामा सप्तरीको राजविराजका पूर्व क्रिकेट खेलाडी महबुब आलम र बाराको सिम्रौनगढका क्रिकेट खेलाडी मोहमद आदिल अन्सारी छन् ।

आदिललाई सप्तरीबाट र महबुबलाई विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । गत पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा उक्त प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा भारतको सेभेन थ्री स्पोर्टस् प्रालिको रणनीतिक तथा व्यवसायीक साझेदारीमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुरमा सिआइबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवैलाई पाँच दिनको म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिए ।

सिआइबीले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय खेलाडी महबुबले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको जानकारी दिएको हो । आदिललाई एउटा ‘नो बल’ र एउटा ‘वाइड बल’ खेल्न भनिएको र उनले दुई खेलमा सोही प्रकृतिको खेल खेलेको पुष्टि भएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

अर्का नेपाली खेलाडीलाई त्यसैगरी स्पट फिक्सिङ गर्न लगाएको उनले बतए । उनीहरु पक्राउ नपरेकाले बाँकी आठ जनाको नाम खुलाइएको छैन । एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन समुहबाटै लोभ देखाएर फिक्सिङको प्रस्ताव गरेको भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘एउटा टोलीका व्यवस्थापकको निर्देशनमा विदेशी खेलाडीले एक इनिङ (पारी) मा निर्धारित रन मात्रै बनाइ स्पट फिक्सिङ गरेको पाइएको छ । केही फ्रेन्चाइज टोलीको आर्थिक र खेलाडीको पारिश्रमिकको श्रोत पनि खुलेको छैन’, उनले भने ।

उक्त घटनाको अनुसन्धानका लागि सिआइवीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो । समितिको अनुसन्धानपछि आज विवरण सार्वजनिक गरिएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत यसरी मिलेमतो गरेको पाइएमा तीन वर्ष कैद र रु ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए उक्त रकम पनि जफत हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?