मधेश प्रदेश सरकारले अझै पाउन सकेन पूर्णता

लोकपथ
91
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

मन्त्रिपरिषदले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डाको विषय भने मोटामोटी टुंगिएको बताएका छन् । सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन् । यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ ।

यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिएपनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेश सरकारमा सहभागी नगराउने एमालेका संसदीय दलका नेता एवम् बिनाविभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिए । उनले आज (मंगलबार) अबेर रातिसम्म बिनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड हुने जानकारी समेत दिए ।

मन्त्री यादवले सत्ता साझेदार दलहरुको बैठकबाट मन्त्रालय भागबन्डाको सहमति जुटाइने बताए । अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ ।

प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उनी आए लगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने मन्त्री यादवले बताए। यसका साथै प्रदेशमा मन्त्रालयहरुको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उनले बताए ।

मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?