रामचन्द्र पौडेलको प्रष्टोक्ति- ‘एमाले विभाजन मैले गरेको होइन’

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद रामचन्द्र पौडेलले आफूले ०५४ सालमा नेकपा एमाले विभाजन नगरेको स्पष्ट पारेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सो समयमा आफूले सभामुखको हैसियतमा एमाले विभाजनमा नलागेको स्पष्ट पारे ।

यसअघि बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले ०५४ र ०७८ मा सभामुखले एमाले फुटाएको आरोप लगाएका थिए ।

सो भनाइको स्पष्टीकरण दिँदै पौडेलले आन्तरिक कारणले आफू सभामुख भएको बेलामा ०५४ सालमा एमाले विभाजन भएको बताए ।

उनले एमाले फुटेको प्रकरण यसरी सुनाए, ‘मैले राप्रपालाई पनि लोकतन्त्र कलिलै छ, दलहरु फुट्यो भने लोकतन्त्र कमजोर हुन्छ भनेँ । त्यो प्रस्ताव (दल विभाजनको प्रस्ताव) लिएर आएका एमालेका सदस्यहरुलाई मैले त्यही कुरा भनेँ । तपाईंहरुको यो प्रस्ताव दर्ता गर्दिन, म सुदूरपश्चिम गएर आउँछु । सम्भव भएसम्म सहमति गर्नुस् भनेर म सुदूरपश्चिम गएँ । कर्णालीको पुलको माझमा पुगेपछि उच्च अधिकारीहरुले यहीँबाट फर्किनुप¥यो भने, म काम नसकी जान्न भनेर धनगढी गएँ । अर्को दिन महेन्द्रनगर गएँ । म मञ्चबाट झर्दा हेलिकप्टर आइरहेको रहेछ । त्यसमै चढेर आएँ । लौ एमाले फोर्न दौडेर आयो भने ।’

आफू उक्त प्रकरणमा कुनै संलग्न नभए पनि आरोप लागेको र त्यसलाई फेस गर्न तयारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?