अमेरिकाको क्यालिफोर्निया र आयोवामा चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

लोकपथ
104
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा दुई दिनभित्रै गोलीकाण्डका दुई ठूला घटना बाहिर आएका छन् । स्थानीय समय अनुसार सोमबार साँझ हाफ मुन बे क्षेत्रमा गोली चलेको बताइएको छ । घटनामा सात जनाको मृत्यु भएको छ ।

यसबाहेक आयोवा राज्यमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । हाफ मुन बे क्षेत्रमा भएको घटनामा एक अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्यालिफोर्नियामा भएको गोलीकाण्डमा के भयो ?

रिपोर्टका अनुसार क्यालिफोर्नियाको हाफ मुन बे क्षेत्रमा दुई किलोमिटरको दुरीमा गोलीकाण्डका दुई घटना भएका थिए। एउटा च्याउ फार्मको नजिक र अर्को ट्रक स्ट्यान्ड नजिक। यी दुवै घटनामा कुल सात जनाको ज्यान गएका छन् । सोही क्रममा एकजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनापछि ६७ वर्षीय एक जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । यसअघि शनिबार क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो ।

आयोवामा के भयो ?

अमेरिकाको आयोवा राज्यको डेस मोइनेसको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् । प्रहरीले केही शंकास्पदलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

घाइते विद्यार्थीको मृत्यु

अमेरिकी सञ्चारमाध्यमका अनुसार सोमबार दिउँसो डेस मोइनेस आयोवा चार्टर स्कूलमा गोलीबारी भएको थियो। गोली लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएकोमा उनीहरुको मृत्यु भएको हो । घटनामा तीन जना घाइते भएका छन् भने एक जनाको उपचार भइरहेको छ ।

गोली लागेर घाइते हुने तेस्रो व्यक्ति शल्यक्रिया गरिसकेका विद्यालय शिक्षक हुन्। यद्यपी घटनाको अनुसन्धान गरिरहेका अधिकारीले गोली हानेका अभियुक्तको नाम भने खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?