बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउँछ : मन्त्री गिरी

लोकपथ
39
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उनले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताए ।

‘बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुरा विरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ’, उनले भने, ‘दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ । एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ ।’

उनले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन निर्देशन दिएको बताए । मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताए ।

मन्त्री गिरी गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशैभरका अस्पतालको पूर्वाधारको बारेमा वैज्ञानिक अध्ययन गरी पूर्वाधार बनाइने बताए । ‘देशभरका अस्पतालको पूर्वाधार कुन अवस्थामा कस्तो रहेको छ भन्नेबारेमा हामी अध्ययन गर्दछौँ र कार्ययोजना बनाई पूर्वाधार विकासमा जोड दिन्छौँ’, उनले भने, ‘आधारभूत अस्पतालका भवन बन्ने प्रक्रियामा छन् ।

ती भवनलाई समयमा नै सम्पन्न गरिने छ ।’ उनले दूरदराजमा जनशक्ति पु¥याउन नसकिने, चिकित्सक जान तयार नहुने जस्ता समस्या देखिएको भन्दै जनशक्तिको ठोस कार्ययोजना बनाई व्यवस्थापन गरिने भनाइ राखे । उनले खरिद प्रक्रियामा कहीँ पनि ‘सेटिङ’ हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘प्रत्येक कुरामा पारदर्शी हुन्छ । जनताको थोपाथोपाबाट संकलन गरिएको राजस्वलाई कहीँ कतैबाट दुरुपयोग हुने दिइने छैन,’ उनले भने । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्यवन गरिने उनको भनाइ थियो । मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसंगति हटाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?