प्रतिनिधि र प्रदेश सभाबीच अनुभवहरुको आदानप्रदान हुनुपर्छ : सभामुख घिमिरे

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका छन् ।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका हुन् ।

उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए । उनले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताए । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उनले बताए ।

उनले भने – ‘संघमा रहेको सभामुखका रोलहरु, अहिले देखिएका केही समस्याहरु वा यसका अनुभवहरुलाई समेत लिएर तलमाथिका सम्बन्ध, जस्तो अहिले यहाँहरुले भन्नुभयो ऐनहरु बनाउँदाखेरी कतिपय माथिका कारणले तल ऐन नबनेका वा कतिपय तलै ऐनहरु नबनेर माथिलाई पनि केही अफ्ठ्याराहरु भएकाजस्ता कुराहरुलाई कसरी मिलाउनुपर्छ आदिजस्ता कुराहरु सिकेर जाउँ र भावि दिनमा प्रभावकारी भुमिका हुन सकोस् जसले गर्दा संसदको गरिमा माथि जान सकोस् । देशमा बनाउनुपर्ने ऐन, कानूनहरु ठिक समयमा र ठिक ढंगबाट बन्नसकुन् । जसले जनताका अवरोध कुनैपनि कुराहरुले कानूनको अभावमा, विधिको अभावमा हुन नपाओस् ।’

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गरे । उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताए । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उनको भनाई छ ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरुलाई पनि समावेश गराउन आग्रह गरे । उनले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरुले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पुर्याउने बताए ।

संयोजक शाहीले सभामुखले संसदको गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताए। उनले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा वहश र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गरे ।

उनले भने – ‘धेरै चुनौतिहरु छन् । यो जिम्मेवारीमा रहँदाखेरी तटस्थताको सन्दर्भमा पनि अलिअलि प्रश्नहरु आएकै छन् । यो संस्थाको गरिमा, महत्वलाई स्थापित गर्नमा सम्माननीयज्यू त लामो अनुभवी, परिपक्व लिडरशिप भएका हुनाले त्यसमा धेरै मद्दत पुग्नेछ, बल पुग्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । सम्मानीय ज्युको नेतृत्वमा विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा पनि बहस, पैरवी गर्नु जरुरी छ । त्यो कामको नेतृत्व लिनुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।’

वागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरुले गरेका कामको समिक्षा हुनुपर्ने बताए। उनले प्रदेशमा बन्न बाँकी रहेका कानूनहरु बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?